काठमाडौँ । नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ । भक्तपुरस्थित उनकै निजी निवासबाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई अवरोध पुर्याउने उद्देश्यले प्रसाईंले आजैदेखि देशव्यापी आमहड्तालको आह्वान गरेका थिए । सोही घोषणाका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ गरिएका प्रसाईंलाई हाल जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा राखिएको छ । उनी यसअघि पनि पटक–पटक विभिन्न मुद्दामा कानुनी फन्दामा पर्दै आएका थिए, तर हरेक पटक सर्वोच्च अदालतको आदेशपछि उनी रिहा हुने गरेका थिए । निर्वाचनको पूर्वसन्ध्यामा प्रसाईंको यो पक्राउले राजनीतिक र सुरक्षा वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।



