काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक (रातो) राहदानी फिर्ता गरेका छन् ।
निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै उनले आफ्नो राहदानी बुझाउने निर्णय गरेका हुन् ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गत भदौ ३० गते अर्थमन्त्री नियुक्त भएका खनालले मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो राहदानी फिर्ताको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । मन्त्री पदमा नरहने सुनिश्चित भएपछि राज्यले उपलब्ध गराएको विशेष सुविधा समयमै त्याग गरेर उनले राजनीतिक नैतिकता प्रदर्शन गरेका छन् ।
खनालको यो कदमलाई कर्मचारीतन्त्र र राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ । प्रायः मन्त्रीहरूले पद छोडेको लामो समयसम्म पनि कुटनीतिक राहदानी साथमै राख्ने प्रवृत्ति देखिने गरेकोमा खनालले भने कार्यकाल सकिनुअघि नै यसलाई फिर्ता गर्ने प्रक्रिया सुरु गरेका हुन् ।



