पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।
फागुन २५ गते पोखराको पृथ्वीचोकमा पुस्तक बेचिरहेका पुनसँग विवाद गरी अभद्र व्यवहार देखाएपछि प्रहरीले गुरुङलाई बिहीबार महेन्द्रपुलबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङले आफ्नो गल्ती महसुस गरेको र पुन आफैँले पनि यो विषयलाई थप अगाडि नबढाउन आग्रह गरेपछि उनलाई रिहा गरिएको हो । सडकमा पुस्तक बेचिरहेका पुनलाई गुरुङले ‘सांसदको काम किताब बेच्ने हो ?’ भन्दै प्रश्न गरेका थिए । सोही क्रममा विवाद बढ्दा गुरुङले पुनतर्फ लक्षित गर्दै अभद्र शब्द प्रयोग गरी थुकेर हिँडेका थिए ।
यसै घटनाप्रति सङ्केत गर्दै महावीर पुनले भनेका छन् — ‘किताब बेचिरहेको स्थानमा आएर कृपया राजनीतिक वा असम्बन्धित प्रश्नहरू नसोध्नुहोस् । यहाँ यसै पनि किताब किन्नेहरूको भिडभाड हुन्छ । यस्ता असम्बन्धित प्रश्नले अनावश्यक तनाव पैदा गर्छ, म पनि त मानिस नै हुँ, रिस उठ्छ । रिस उठेपछि भनाभन सुरु हुन्छ र अन्ततः कुरो बिग्रिन्छ ।’



