जनकपुरधाम । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि सुशीला कार्की पहिलोपटक मधेसको ऐतिहासिक नगरी जनकपुरधाम पुग्नुभएको छ । आज जनकपुर पुगेलगत्तै उहाँले प्रसिद्ध जानकी मन्दिरमा पुगेर श्रद्धापूर्वक पूजाअर्चना र दर्शन गर्नुभएको छ ।
मन्दिर परिसरमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले यो आफ्नो नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएको स्पष्ट पार्नुभयो । निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारीसहित सरकारको नेतृत्व गरिरहनुभएका उहाँ पछिल्ला केही दिनयता देशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकनमा हुनुहुन्छ ।
हिजो मुगुको मनोरम रारा ताल र हुम्लाको भ्रमण गरी उतै विश्राम गर्नुभएका प्रधानमन्त्री कार्की आज मधेसको सांस्कृतिक केन्द्र जनकपुर पुग्नुभएको हो । उहाँको यो भ्रमणले आन्तरिक पर्यटन र धार्मिक सद्भावको सन्देश दिएको स्थानीयहरूले महसुस गरेका छन् ।



