काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा गर्ने भनिएको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ ।
ट्रम्पले इरानसँगको वार्ता सकारात्मक र फलदायी भएको दाबी गर्दै आफ्नो ४८ घण्टे अल्टिमेटमलाई पछि सारेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणा लगत्तै करिब एक महिनादेखि लगातार उकालो लागिरहेको इन्धनको मूल्यमा ठुलो गिरावट देखिएको छ । विशेष गरी अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ देखि १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ डलर सम्म झरेको छ, जुन केही समयअघि मात्रै १०० डलरभन्दा माथि पुगेको थियो । त्यसैगरी अमेरिकी कच्चा तेल (WTI) को मूल्यमा पनि झण्डै १३.५ प्रतिशतको ओरालो लाग्दै प्रति ब्यारेल ८५.२८ डलर कायम भएको छ ।
अमेरिकी राष्ट्रपतिले वार्ता भइरहेको दाबी गरे पनि इरानी पक्षले भने त्यसको खण्डन गरेको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार इरानले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नगरेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमहरूले ट्रम्पको निर्णयलाई ‘वार्ताको परिणाम’ नभई ‘इरानको कडा चेतावनीपछिको डर’ का रूपमा व्याख्या गरेका छन्। इरानले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविर र अन्य ऊर्जा संरचनाहरूलाई ‘खरानी बनाइदिने’ धम्की दिएको थियो।
यसअघि राष्ट्रपति ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘होर्मुज जलडमरूमध्य’ (Strait of Hormuz) पूर्ण रूपमा नखोले इरानका सबैभन्दा ठुला पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएका थिए। तर, सोमवार बिहान सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै उनले पाँच दिनका लागि यो योजना स्थगित गरिएको जानकारी दिएका हुन्।



