काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूले अब विमानस्थलमा अनावश्यक कागजातको झन्झट बेहोर्नु नपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा श्रमिकहरूले अतिरिक्त बिल, रसिद वा अन्य अनावश्यक प्रमाणहरू पेश गर्नुपर्ने बाध्यता हटेको अध्यागमन विभागले स्पष्ट पारेको छ । विभागका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र राहदानी जस्ता आधारभूत कानुनी कागजात भएमा मात्र पनि यात्राका लागि पर्याप्त हुनेछ ।
यसैगरी, भिजिट भिसामा विदेश जाने नागरिकका लागि पनि अध्यागमन प्रक्रियामा सहजीकरण गरिएको छ । अब भ्रमण भिसामा जाने यात्रीहरूसँग कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणा फारम भरेर सहजै प्रस्थान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयको पछिल्लो निर्णय र विद्यमान कानुन अनुसार नै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । यात्रीहरूलाई कुनै पनि भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी आवश्यक तयारी पुरा गरी ढुक्कसँग विदेश जान विभागले अनुरोध गरेको छ ।



