काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रचलित कानुनविपरीत काममा लगाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई श्रम सम्झौता नै नगरी काममा खटाउने गरिएको गुनासो आएपछि मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । कतिपय अवस्थामा प्रशिक्षार्थीहरूलाई समेत तोकिएको समयभन्दा बढी श्रम गराउने गरिएको उजुरी मन्त्रालयमा परेको छ ।
मन्त्रालयले जारी गरेको निर्देशन अनुसार, अबदेखि रोजगारदाता र श्रमिकबीच अनिवार्य रूपमा रोजगार सम्झौता हुनुपर्नेछ । श्रम ऐन २०७४ ले स्पष्ट रूपमा दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा मात्र थोरै समय अतिरिक्त काम गराउन सकिने भए पनि त्यसको उचित व्यवस्थापन हुनुपर्ने मन्त्रालयको अडान छ ।
प्रचलित कानुनको उल्लंघन गरी स्वास्थ्यकर्मीलाई अन्यायमा पारेको पाइएमा सम्बन्धित संस्थामाथि कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।



