काठमाडौँ । सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न र भन्सार प्रणालीलाई व्यवस्थित बनाउन सरकारले सांसदहरूसँग सुझाव संकलन सुरु गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूसँग विशेष छलफल गर्दै सीमा व्यवस्थापनका चुनौती र समाधानका उपायबारे परामर्श गर्नुभएको हो ।
छलफलका क्रममा सांसदहरूले वर्तमान भन्सार दरबन्दीमा पुनरावलोकन गर्नुपर्ने र प्रविधिमैत्री निगरानी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । खासगरी सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु ल्याउँदा निश्चित सीमासम्म भन्सार छुट दिने स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उठेको छ । यस्तै , किसानहरूलाई आवश्यक पर्ने मल र कृषि सामग्रीको आयात प्रक्रियालाई सरल बनाउन सहभागीहरूले सुझाव दिएका थिए ।
बैठकमा उठेका सुझावहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय मातहतका विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो । अर्थ मन्त्रालयसँग जोडिएका नीतिगत सुधारका सवालमा भने आवश्यक समन्वय गरी निकास निकालिने उहाँको भनाइ थियो ।



