काठमाडौँ । देशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको स्थिति बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बढी बादलको प्रभाव देखिएको छ ।
दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा ती क्षेत्रका सीमित स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ । यद्यपि देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
राति देशका हिमाली भूभागमा आंशिक बादली छाउने र अन्य क्षेत्रमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ । विशेष गरी तराई क्षेत्र, उपत्यका तथा नदीखोँचहरूमा बिहानको समयमा थोरै स्थानहरूमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ ।

