काठमाडौँ । इरान, अमेरिका र इजरायलबीच विगत १२ दिनदेखि जारी भीषण युद्धका क्रममा इरानले आफ्नो शीर्ष नेतृत्वमा ठूलो क्षति व्यहोरे पनि युद्ध लड्ने क्षमता अझै अक्षुण्ण रहेको दाबी गरेको छ।
युद्धको सुरुवाती चरणमै सर्वोच्च नेता अली खामेनीसहित करिब ५० जना उच्च अधिकारीहरूको मृत्यु भइसकेको अवस्थामा पनि इरानले अझै लामो समयसम्म लड्न सक्ने सैन्य रणनीति सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले पछिल्लो दुई दशकदेखि अमेरिकाले विभिन्न देशमा लडेका युद्धहरूको अध्ययन गरी तयार पारेको विशेष सैन्य योजनाका मुख्य बुँदाहरू यस प्रकार छन्:
१. डिसेन्ट्रलाइज्ड मोजेक डिफेन्स रणनीति
इरानले आफ्नो सैन्य शक्तिलाई एउटै केन्द्रमा सीमित नगरी सात वटा स्वतन्त्र समूहमा विभाजन गरेको छ। यस प्रणालीमा मुख्य कमान्ड सेन्टर वा मुख्यालय नष्ट भए पनि स्थानीय सैन्य इकाइहरूले स्वतन्त्र रूपमा निर्णय लिन र आक्रमण जारी राख्न सक्छन्। यसले गर्दा राजधानी तेहरानमा ठूलो आक्रमण भए पनि युद्ध प्रणाली ध्वस्त नहुने इरानको विश्वास छ।
२. चार तहको उत्तराधिकारी प्रणाली
शीर्ष नेतृत्वको क्षतिले उत्पन्न हुने रिक्ततालाई सम्बोधन गर्न इरानले हरेक महत्त्वपूर्ण पदका लागि चार-चार जना सम्भावित उत्तराधिकारी पहिले नै तय गरेको छ। कुनै नेता मारिएमा वा सम्पर्क विच्छेद भएमा अर्को व्यक्तिले तुरुन्तै नेतृत्व सम्हाल्ने गरी “ब्याकअप” व्यवस्था मिलाइएको छ।
३. बहुआयामिक सैन्य परिचालन
इरानले आफ्ना विभिन्न सैन्य बललाई फरक-फरक भूमिका सुम्पेको छ:
- नियमित सेना: मोर्चालाई स्थिर बनाउने र प्रारम्भिक आक्रमण रोक्ने।
- रिवोल्युसनरी गार्ड (IRGC): छापामार शैलीमा हमला गर्ने र आपूर्ति मार्ग अवरुद्ध गर्ने।
- बसिज मिलिसिया: ३१ वटा प्रान्तमा स्थानीय स्तरबाट लडाइँ जारी राख्ने।
- क्षेप्यास्त्र र नौसेना: फारसको खाडी र होर्मुज जलडमरूमध्यमा शत्रुका जहाज तथा सैन्य अखडामाथि प्रहार गर्ने।
४. लामो र खर्चिलो युद्धको नीति
इरानले यो युद्धलाई छिटो टुङ्ग्याउनेभन्दा पनि लामो समयसम्म तन्काउने रणनीति बनाएको छ। सस्तो ड्रोन र हतियार प्रयोग गरेर शत्रुलाई महँगो प्रतिरक्षा प्रणाली खर्च गर्न बाध्य बनाउने र आर्थिक रूपमा गलाउने इरानको मुख्य योजना रहेको विश्लेषण गरिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले हालैको बमबारीले आफ्नो सैन्य क्षमतामा ह्रास नआएको दाबी गर्दै युद्ध कहिले र कसरी अन्त्य गर्ने भन्ने निर्णय इरानकै हातमा रहेको बताउनुभएको छ।



