टोकियो (एजेन्सी) । उत्तरपूर्वी जापानको समुद्रलाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो शक्तिशाली भूकम्प गएपछि तटीय क्षेत्रमा सुनामीको ठूलो जोखिम बढेको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार ७.४ म्याग्निच्युडको यो भूकम्पपछि समुद्रमा ३ मिटरसम्म अग्ला छालहरू उठ्न सक्ने अनुमान गरिएको छ । नेपाली समयअनुसार दिउँसो २ बजेर ७ मिनेटमा इवाटे प्रान्तको प्रशान्त महासागरतर्फको तटीय भागमा उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट सयौँ किलोमिटर टाढा रहेको राजधानी टोकियोमा समेत मानिसहरूले यसको कडा महसुस गरेका थिए । जेएमएले सुनामीका छालहरू उत्तरी तटीय इलाकामा जुनसुकै बेला आइपुग्न सक्ने भन्दै सतर्क रहन भनेको छ । भूकम्पको लगत्तै अधिकारीहरूले तटीय क्षेत्र नजिक रहेका बासिन्दाहरूलाई बिना ढिलाइ अग्लो र सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका छन् ।
जापान सरकारले यस प्राकृतिक विपत्तिको सामना गर्न प्रधानमन्त्री कार्यालयमा तत्कालै सङ्कट व्यवस्थापन टोली परिचालन गरेको छ । उक्त टोलीले अहिले प्रभावित क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएका कारण जापान विश्वकै बढी भूकम्पीय जोखिम भएको मुलुकमा पर्दछ । यहाँ वर्षमा औसत १ हजार ५०० पटक भूकम्पका धक्काहरू महसुस हुने गर्दछन् ।
जापानमा यसअघि सन् २०११ मा गएको ९.० म्याग्निच्युडको महाभूकम्प र त्यसपछिको विध्वंशकारी सुनामीले गर्दा झन्डै १८ हजार ५०० जनाले ज्यान गुमाएका थिए । हालको भूकम्पपछि पनि थप क्षति हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ ।



