काठमाडौँ । वैदेशिक शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूले अब झन्झटिलो प्रक्रिया व्यहोर्नु नपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले आफ्नो सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै ‘फेसलेस’ सेवा सुरु गरेपछि यो सहजता आएको हो ।
यस नयाँ व्यवस्था अनुसार विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) का लागि आवेदन दिन र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । प्रणालीलाई प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको तथ्याङ्कसँग एनओसीको पोर्टललाई जोडिएको छ । यसले गर्दा विद्यार्थीले बुझाउने नागरिकता, राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को प्रमाणपत्र र विश्वविद्यालयको शैक्षिक विवरणहरू प्रणालीबाटै स्वतः प्रमाणीकरण हुनेछन् ।
राजस्व भुक्तानीका लागि पनि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । विद्यार्थीले अनलाइन माध्यमबाटै तोकिएको शुल्क तिर्न सक्नेछन् । आवेदन स्वीकृत भएपछि विद्यार्थीले आफ्नै प्रोफाइलबाट एनओसी डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् । उक्त प्रमाणपत्रमा क्युआर कोड (QR Code) राखिएकाले यसको आधिकारिकता जो-कोहीले सजिलै जाँच गर्न सक्ने व्यवस्था मिलाइएको छ ।



