काठमाडौँ । मुलुकका उच्च शिक्षा प्रदायक संस्थाहरूको अवस्था सुधार गर्न प्रधानमन्त्री बालेन्द्र शाहले सक्रियता देखाएका छन् ।
सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक विशेष बैठकमा उनले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग संवाद गर्ने कार्यक्रम रहेको छ । उक्त छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखहरूको उपस्थिति रहने जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
यस बैठकको मुख्य उद्देश्य विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले भोग्दै आएका वर्तमान चुनौतीहरू र तिनको दीर्घकालीन समाधान पहिल्याउनु हो । बैठकमा तत्कालै सम्बोधन गर्न सकिने प्रशासनिक तथा प्राविधिक समस्याहरूका बारेमा समेत ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका सबै प्रमुख विश्वविद्यालय र नास्ट एवं विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले आ–आफ्नो संस्थाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् ।



