काठमाडौँ । फुटपाथमा प्रहरीको गाडी पार्किङ गरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले यसबारे आफ्नो गम्भीर चासो व्यक्त गरेको छ ।
सर्वसाधारण हिँड्ने बाटोमा सवारी साधन राख्दा आवागमनमा अवरोध पुग्ने र कानुनको समेत उल्लङ्घन हुने भन्दै प्रहरीले यसलाई अनुशासनविपरीतको कार्य भनेको छ । कानुन पालना गराउने जिम्मेवारी पाएको निकायका कर्मचारीबाटै यस्तो लापरवाही हुनुलाई प्रहरीले गम्भीरताका साथ लिएको जनाएको छ ।
यस घटनालगत्तै प्रहरीले आफ्ना सम्पूर्ण सदस्यहरूलाई सवारी साधन चलाउँदा र पार्किङ गर्दा उच्च स्तरको अनुशासन कायम राख्न कडा निर्देशन दिएको छ ।
सरकारी होस् वा निजी, जुनसुकै सवारी साधन प्रयोग गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न अनिवार्य गरिएको प्रहरीको भनाइ छ । साथै, प्रहरीले आम सर्वसाधारणलाई पनि सडक अनुशासन कायम राख्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ ।



