काठमाडौं । रुवान्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ ।
नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने यस खेलमा नेपाल अघिल्लो हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ । प्रतियोगितामा अहिलेसम्म चार खेल खेलिसकेको नेपालले मिश्रित नतिजा निकालेको छ, जसमा इटाली र आयोजक रुवान्डा विरुद्ध जित हासिल गरेको छ भने अमेरिका र भानुआटुसँग पराजय भोगेको छ ।
अर्कोतर्फ, चार मध्ये तीन खेल जितेर उच्च मनोबलमा रहेको अमेरिकाले इटाली, नेपाल र भानुआटुलाई हराइसकेको छ भने रुवान्डासँग मात्र अंक सुम्पिएको छ ।
कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा उपकप्तान पुजा महतो, अनुभवी खेलाडी रुबिना क्षेत्री सहित बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का लगायतका खेलाडीहरू समावेश छन् । मुख्य प्रशिक्षक हर्षल पाठकको मार्गनिर्देशनमा नेपाली टोलीले आफ्नो प्रदर्शनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । अप्रिल १८ देखि मे २ सम्म चल्ने यस ऐतिहासिक च्यालेन्ज ट्रफीमा नेपाल, अमेरिका, इटाली, भानुआटु र रुवान्डा गरि पाँच राष्ट्रहरू उपाधिका लागि भिडिरहेका छन् ।
आजको खेलपछि नेपालले बाँकी खेलहरूमा अप्रिल २८ मा रुवान्डा, ३० मा भानुआटु र मे १ मा इटालीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।



