काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालको पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव देखिएको छ ।
यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ । अहिले गण्डकीका धेरै ठाउँ र बागमती, लुम्बिनी, कोशी तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा भने हिमपातको क्रम जारी छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा बदली रहने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ भने तराईका अन्य भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । केही पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने गर्मी बढ्ने र ‘तातो दिन’ हुने विभागको अनुमान छ ।
रातिको समयमा पनि पहाडी र हिमाली भेगमा आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।



