काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ ।
यसका कारण देशभरि नै मौसममा बदलाब आएको छ । अहिले बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रसहित कोशी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ । मधेश र सुदूरपश्चिम प्रदेशका सीमित क्षेत्रमा पनि वर्षाको प्रभाव देखिएको छ ।
आज दिउँसो देशभरको आकाशमा बादल रहने सम्भावना छ । कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा वर्षा र हिमपातको स्थिति रहनेछ । तराईका केही स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
रातिको समयमा भने हिमाली भेगमा बादलको प्रभाव बढी रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ भने अन्य क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।



