काठमाडौँ । रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत आज नेपालले भानुआटुको सामना गर्दैछ ।
नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने यस खेलमा नेपाल अघिल्लो हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ । प्रतियोगितामा हालसम्म मिश्रित प्रदर्शन गरेको नेपालले ६ खेलमध्ये ३ मा जित र ३ मा हारको नतिजा निकालेको छ ।
यसअघि नेपालले रुवाण्डालाई दुवै खेलमा र इटालीलाई एक खेलमा पराजित गरेको थियो भने अमेरिकासँगका दुवै खेल र भानुआटुसँगको एउटा खेलमा पराजय भोगेको थियो । अर्कोतर्फ, भानुआटुका लागि यो प्रतियोगिता निकै चुनौतीपूर्ण रहेको छ । उसले खेलेका ७ खेलमध्ये नेपाल विरुद्धको खेलमा मात्र जित निकालेको छ भने अन्य ६ खेलमा हार व्यहोरेको छ ।
नेपाली टोलीको नेतृत्व इन्दु बर्माले गरिरहेकी छिन् भने टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक रहेका छन् । नेपाली टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् ।
अप्रिल १८ देखि मे २ सम्म चल्ने यस ऐतिहासिक च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो अन्तिम खेल मे १ मा इटालीसँग खेल्ने तालिका छ ।



