२७ भदौ, काठमाडौं। चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली झान्सु चारदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् । उनलाई आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए ।
गृह मन्त्रालयका अनुसार सभामुख सापकोटा र चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लीबीच आज द्विपक्षीय भेटवार्ता हुने भएको छ । सभामुख सापकोटाले चिनियाँ नेताको सम्मानमा आजै रात्रिभोजको आयोजना गर्नेछन् ।
लीले भदौ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र भदौ ३० मा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले भदौ ३० गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन् ।
नेपाल भ्रमणका क्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गर्नेछन् । उनी भदौ ३० मा स्वदेश फर्कनेछन् ।