काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने यो बैठक वैशाख ६ गते दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा तय गरिएको छ ।
बैठकको मुख्य कार्यसूचीमा जिल्ला अधिवेशन कार्यविधि २०८३ को मस्यौदा र बैंक खाता सञ्चालन सम्बन्धी निर्णयहरू रहेका छन् । यसका साथै केन्द्रीय आयोग र सल्लाहकार परिषद् जस्ता महत्त्वपूर्ण संरचनाहरूमा रिक्त रहेका पदहरूको मनोनयनका बारेमा पनि छलफल हुने पार्टीले जनाएको छ ।
महाधिवेशनको तयारीलाई अघि बढाउन कार्यविधि मस्यौदा समिति गठन गर्ने र विज्ञहरूबाट योजना प्रस्ताव आह्वान गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । बैठकमा प्रतिनिधिसभा सदस्यहरूको कार्यविभाजन र संसदीय दललाई उपलब्ध गराइने प्राविधिक सहयोगका विषयमा समेत आवश्यक निर्णय लिइने बताइएको छ ।



