काठमाडौँ । इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरू (Strait of Hormuz) पुनः ठप्प भएको छ ।
इरानले उक्त समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै जहाजहरूको आवतजावतमा पूर्ण रोक लगाएको हो । अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथि लगाएको आर्थिक नाकाबन्दी फिर्ता नलिएसम्म यो मार्ग नखोलिने अडान इरानले राखेको छ । इरानी संयुक्त सैन्य कमानले एक विज्ञप्ति जारी गर्दै अहिले सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडा निगरानी भइरहेको पुष्टि गरेको छ ।
यसअघि इरानले केही लचकता अपनाउँदै मार्ग खुला गर्न सकिने संकेत दिएको भए पनि वासिङ्टनको अडानमा कुनै परिवर्तन नआएपछि तेहरान कठोर बनेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमसहितका अन्य मुद्दामा नयाँ सम्झौता नभएसम्म नाकाबन्दी जारी रहने स्पष्ट पारेका थिए ।
सोही घोषणाको प्रतिक्रियास्वरूप इरानले विश्वकै प्रमुख व्यापारिक मार्गमध्येको एक मानिने यस क्षेत्रमा रोक लगाएको हो ।



