२९ भदौ बैतडी। बैतडी जिल्लामा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । साउन १ गतेदेखि भदौ २८ गतेसम्म १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु देखिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।
जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि डेंगु र स्क्रब टाइफसका बिरामी भेटिएको अस्पतालका स्वास्थ्य सहायक हेमन्त खडायतले बताए।
परीक्षण नगरिएका व्यक्तिमा पनि स्क्रब टाइफस र डेंगुको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ। अस्पतालका सूचना अधिकारी हरिश पन्तले दैनिक ढिलो गरी अस्पताल आउने बिरामीमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण देखिएको बताए।
यसैबीच जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले जनचेतना तथा सरसफाइ अभियान सुरु गरेका छन्।
(आरएसएस)