ताप्लेजुङका कृषकहरु अहिले अलैंची काट्नमा व्यस्त छन् । चाडपर्वको सिजन सकिएसँगै उनीहरु अलैंची टिप्ने, बोक्ने र पकाउने काममा लागेका छन् ।
पाथीभरा याङवारक गाउँपालिका–१ थेचम्बुका अलैंची कृषक ज्ञानबहादुर गुरुङले वन्यजन्तुबाट हुन सक्ने खतराले अलैंची टिप्ने तयारीमा कृषकहरु लाग्न थालेको जानकारी दिनुभयो । अलैंचीको सिजन भएकाले दशैं, तिहार जस्ता ठूला चाडपर्व मनाउन नसकेको उनले बताए ।
फक्ताङलुङ गाउँपालिका-६ माडिबुङका कृषक बसन्त लिम्बुले चाडबाडमा पनि अलैंची खेतीमै समय बिताउने गरेको बताउनुभयो ।
त्यसैगरी, तिहारमा अलैंची टिप्ने, छिल्ने र पकाउने काममा निकै व्यस्त भएको फुङ्लिङ नगरपालिका–६ बिहिबारेका कृषक खोङ्दु शेर्पाले बताए ।
वन्यजन्तुको आक्रमणको त्रास बढ्दै गएकाले समयमै अलैंची काट्न कृषकले पहल गरेको उनले बताए ।
जिल्लाभरका अलैंची कृषकहरूले आफ्नो उत्पादन काट्ने यो उच्च समय हो। जिल्लाका नौ वटै स्थानीय तहका ६० वडामा अलैंची खेती हुने गरेको छ ।
जिल्लामा करिब ४,४५० हेक्टर जमिनमा अलैंची खेती भएको छ । (RSS)