अर्घाखाँची । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको शितागंगा नगरपालिका-२ स्थित पुल नजिक शनिबार कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर जाँदै गर्दा ग ३ च १५७९ नम्बरको कारको ब्रेक फेल भएर सडकबाट खसेर घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरु सबै तनहुँ अम्बुखरेनीका एकै परिवारका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए ।
घाइते हुनेमा अम्बुखारेनीका ५५ वर्षीया लक्ष्मी त्रिपाठी, ५१ वर्षीया अंशु त्रिपाठी, २८ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र चालक ३२ वर्षीय सिसन त्रिपाठी रहेका छन् ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।