जनकपुर । मधेस प्रदेशमा पहिलो र दोस्रो बनेका राजनीतिक दलले नयाँ सरकार गठनका लागि गृहकार्य थालेका छन् ।
प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको बहुमत नआएकाले प्रदेशमा कुन दलले सरकार बनाउने भन्ने टुंगो लाग्न सकेको छैन ।
प्रदेशसभामा जितेको सिटका आधारमा नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रोमा छ ।
तर, गठबन्धनका हिसाबले सत्तारुढ गठबन्धनका दलहरू पहिलो र एमाले–जनता समाजवादी पार्टी–नेपाल (जसपा) गठबन्धन दोस्रो स्थानमा छन् । दुवै गठबन्धनले आफ्नो गठबन्धन बाहिरका दलहरूलाई नयाँ सरकार गठनका लागि आवश्यक बहुमत ल्याउने प्रयासमा छन्
केन्द्रमा संघीय सरकार बनेपछि प्रदेश सरकार गठनमा असर पर्ने निश्चित छ ।
संघीय सरकार गठनको ढाँचा तयार नभएसम्म मधेसमा प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने सम्भावना छैन ।
एमालेका मधेस प्रदेश सहइन्चार्ज सुमनराज प्याकुरेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग छलफल भएको र आफ्नो गठबन्धनसँग बहुमत नभएको बताउँदै प्याकुरेलले सरकार गठनका लागि जसपा-एन, जनता पार्टीलगायत अन्य दलसँग छलफल भइरहेको बताए ।
तर, संघीय सरकार कसरी बन्ने हो, त्यसले प्रदेश सरकार गठनलाई पनि निर्देशन दिने उनको भनाइ छ ।
त्यसैगरी नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार गठनको प्रयास जारी रहेको बताए ।
सरकार गठनका लागि जनता समाजवादी लगायतका दलसँग छलफल भइरहेको बताउँदै उहाँले सङ्घीय सरकार बनेपछि प्रदेशमा सरकार बन्ने बताउनुभयो ।
नेपाली काँग्रेस मधेस प्रदेश सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले सरकार कसरी र कसको नेतृत्वमा बन्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग छलफल गरी वातावरण बनाउने प्रयास भइरहेको बताए ।
मधेस प्रदेशमा पहिलो र दोस्रो ठूलो दल नेकपा एमाले र नेपाली कांग्रेसले चुनावमा छुट्टाछुट्टै गठबन्धन बनाए पनि साधारण बहुमत ल्याउन सकेको छैन । मधेसमा एमाले-जसपा गठबन्धन र सत्तारुढ गठबन्धनले चुनाव लडेका छन् ।
अब बहुमतीय सरकार बनाउन गठबन्धनभित्र र बाहिरका दलहरूको सहयोग लिनुको विकल्प छैन । अर्को विकल्प दुई गठबन्धनको संयुक्त सरकार गठनको सम्भावना रहेको गुप्ताले बताए ।