हुम्ला । बेलायती सरकारको आर्थिक सहयोगमा निर्माण भएको हुम्लाको चाँखेली गाउँपालिकाको देउलीदेखि मुगुको सदरमुकाम गमगढी जोड्ने सडक औपचारिक रुपमा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको छ ।
बिहीबार प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक स्वीकृत गरेका हुन् ।
६७ किमि लामो गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो। सडक निर्माणका लागि एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँ लागेको थियो। यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ।
रोजगारीमा रहेका कुल संख्यामध्ये ३५ प्रतिशतभन्दा बढी महिला सहभागी भएको जानकारी गरिएको थियो। उक्त सडक निर्माण गर्न खटिएका महिला कामदारलाई पनि पुरुषसहर ज्याला दिएर काममा लगाइएको थियो। सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका थिए।
युनाइटेड किंगडम डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (DFID) मार्फत युके एडको सहयोगमा रुरल एक्सेस प्रोग्रामको तेस्रो चरणअन्तर्गत सडक निर्माण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री शाहीले बोल्दै सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गर्दै हुम्लाबाट यही बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुुगेका, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएको भन्दै मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार नै सडक भएको र सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जाने बताए।
शाहीले सडकलाई विकासको पूर्वशर्त बताउँदै सडकको पहुँचले जनताको आवश्यकता पूरा गर्न मद्दत गरेको बताए ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि गमगढी–देउली सडकले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताए । बेलायतले नेपालमा निर्माण गरेको यो सबैभन्दा लामो ग्रामीण सडक भएको पनि उनले जानकारी दिए । सडकले खाद्यान्नको मूल्य ४३ प्रतिशतले घटाउने र स्वास्थ्य जस्ता सेवा स्थानीयको पहुँचमा पुग्ने उनको दाबी छ ।