बिराटनगर । प्रदेश १ सभा गठन भएकाे ६३ महिनापछि प्रदेश १ को नाम ‘कोशी’ पारित भएको छ ।
एक कार्यकाल गुजारेको प्रदेश १ ले अन्तत: बुधबार साँझ कोशी प्रदेश नाम पाएको हो । बुधकार प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोशी पारित गरेको हो ।
प्रदेश सभाका ठूलाे दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपादमाओवादी केन्द्र मिल्दा प्रदेशकाे नाम काेशी राख्न सम्भव भएकाे हाे। कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। प्रदेश सभामा भएको मतदान प्रकियामा चारजना प्रदेश संसद अनुपस्थित रहे।
प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए । उक्त नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए ।
यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो ।
कोशी प्रदेश बुहमतले पारित भएसँगै सभामुखले अन्य प्रस्ताव खारेज भएको घोषणा गरेका थिए ।