चितवन । चितवनको भरतपुर महानगरपालिका-६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । शनिबार एक कार्यक्रमका बिच प्रमुख दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गरेकी हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव शहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत् १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ नम्बर वडामा विद्युत आपूर्ति दिइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।
देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निकालिएका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदा भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुनेछ ।