काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हुन सक्ने तोडफोड, आगजनी र उच्छृङ्खल गतिविधिलाई रोक्न प्रशासनले आज (२०८२/१०/२९) देखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।
कुन–कुन क्षेत्रमा छ प्रतिबन्ध ?
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको आदेश अनुसार निम्न स्थानहरूमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, जुलुस वा सभा गर्न पाइने छैन :
-
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि भित्रको सम्पूर्ण सडक ।
-
आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र ।
-
पार्किङ क्षेत्र लगायत विमानस्थल हाताभित्रको सम्पूर्ण भाग ।
किन जारी गरियो निषेधाज्ञा ?
प्रशासनले सुरक्षा संवेदनशीलतालाई प्रमुख कारण बताए पनि यसको प्रत्यक्ष सम्बन्ध पूर्वराजा ज्ञानेन्द्र शाहको स्वदेश फिर्तीसँग जोडिएको छ । फागुन १ गते पूर्वराजा काठमाडौँ फर्कने कार्यक्रम छ । उनको स्वागतका लागि राप्रपासहित विभिन्न राजावादी दल र समूहहरूले विमानस्थलमा ठुलो संख्यामा जम्मा हुने कार्यक्रम घोषणा गरेपछि सम्भावित मुठभेड र असुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यो कदम चालेको हो ।
प्रशासनको प्रतिवद्धता : प्रशासनले निषेध गरिएको क्षेत्र बाहेकका अन्य स्थानमा नागरिकले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दै शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकको सम्मान गर्ने स्पष्ट पारेको छ । तर, विमानस्थल जस्तो संवेदनशील स्थानमा शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कडाइका साथ कारबाही गरिने चेतावनी समेत दिइएको छ ।



