काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो देशको सुरक्षामा चुनौती बनेमा पूर्ण रूपमा नष्ट गरिदिने कडा चेतावनी दिएका छन् ।
प्योङयाङमा सात दिनसम्म चलेको वर्कर्स पार्टी कांग्रेसको समापन समारोहलाई सम्बोधन गर्दै किमले दक्षिण कोरियालाई ‘स्थायी शत्रु’ को संज्ञा दिएका हुन् । उनले दक्षिण कोरियासँग कुनै पनि प्रकारको वार्ता सम्भव नरहेको स्पष्ट पार्दै आफ्नो सैन्य सामर्थ्यलाई अभूतपूर्व रूपमा बढाउने उद्घोष गरेका छन् ।
सम्बोधनका क्रममा नेता किमले आगामी पाँच वर्षका लागि उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रम विस्तार गर्ने महत्वाकांक्षी योजना प्रस्तुत गरेका छन् । यस योजना अन्तर्गत पानीमुनिबाट प्रहार गर्न सकिने अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइल, सामरिक परमाणु हतियार, परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, आर्टिफिसियल इन्टेलिजेन्स युक्त ड्रोन र उन्नत उपग्रहहरूको विकास गरिने उल्लेख छ । किमले अमेरिकाको सन्दर्भमा बोल्दै यदि वासिङ्टनले उत्तर कोरिया विरुद्धको प्रतिबन्ध र दबाबको नीति त्यागेमा मात्र संवादको ढोका खुल्न सक्ने सङ्केत दिएका छन् ।
पार्टी कांग्रेसको समापनपछि राजधानी प्योङयाङमा एक भव्य सैन्य परेडको आयोजना गरिएको थियो, जसमा किम आफ्नी छोरीसँगै सार्वजनिक रूपमा उपस्थित भएका थिए । उक्त परेडमा विभिन्न अत्याधुनिक सैन्य सरसामानहरू प्रदर्शन गरिए पनि अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने ठूला अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइलहरू भने यस पटक देखाइएको थिएन । यसलाई विश्लेषकहरूले किमको रणनीतिक सन्तुलन मिलाउने प्रयासको रूपमा हेरेका छन् ।
उत्तर कोरियाको यो पछिल्लो सैन्य तयारी र आक्रामक अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा पुनः तनाव बढ्ने देखिन्छ ।



