काठमाडौँ । निजी क्षेत्रले व्यवसायिक कामको सिलसिलामा अबदेखि अतिरिक्त रकम (घूस) बुझाउनु नपर्ने प्रतिबद्धता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गर्नुभएको छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले व्यवसायीहरूले झेल्नुपर्ने प्रशासनिक झन्झट र कानुनी त्रासको अन्त्य हुने आश्वासन दिनुभएको हो । अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बनेर अघि बढ्ने बताउँदै अबका दिनमा व्यवसायीहरूले विनाकारण लाइन बस्नुपर्ने वा थुनिनुपर्ने अवस्था नआउने स्पष्ट पार्नुभयो ।
मुलुकमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि निजी लगानी अपरिहार्य रहेको चर्चा गर्दै उहाँले सरकार र उद्यमीबीचको बलियो सहकार्यमा जोड दिनुभयो ।
आफू कुनै पनि प्रकारको आर्थिक प्रलोभनमा नफस्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने उद्घोष गर्दै मन्त्री वाग्लेले भन्नुभयो, “म अर्थतन्त्रको दिशा परिवर्तन गरेर देशलाई समृद्धिको नयाँ बाटोमा डोर्याउन आएको हुँ, कसैलाई पनि अनियमितता गर्न दिने छैन ।”



