काठमाडौँ । आगामी चैत्र १९ गतेका लागि तय गरिएको संघीय संसद्को अधिवेशनलाई व्यवस्थित बनाउन संसद् सचिवालयले आन्तरिक गृहकार्यलाई तीव्रता दिएको छ ।
अधिवेशन सञ्चालनका प्राविधिक तथा प्रशासनिक पक्षमा साझा धारणा बनाउन सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संयुक्त बैठक डाकेको हो ।
सिंहदरबारस्थित सचिवालयको कार्यकक्षमा बुधबार दिउँसो १ बजे बस्ने उक्त सर्वदलीय छलफलमा सरकारका प्रतिनिधि, विभिन्न दलका सचेतक तथा संसद् सचिवालयका उच्च अधिकारीहरूको सहभागिता रहनेछ । बैठकमा अधिवेशनको कार्यसूची, सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र (नेपाली कम्युनिष्ट पार्टी) र श्रम संस्कृति पार्टीका साथै स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।



