काठमाडौँ । विश्वभरका मानिसहरूले आज अप्रिल २ मा अटिजम भएका व्यक्तिहरूको अधिकार र उनीहरूको अवस्थाबारे चेतना फैलाउँदै विशेष दिवस मनाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सुरु भएको यो दिवसले अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको उचित स्याहार र उनीहरूलाई समाजमा सम्मानजनक स्थान दिलाउन जोड दिने गर्दछ । नेपालमा पनि यस अवसरमा जनचेतनामूलक विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् ।
यस वर्षको नारा ‘अटिजम र मानवता- हरेक जीवनको मूल्य हुन्छ’ तय गरिएको छ । अटिजमका बारेमा फैलिएका भ्रमहरूलाई चिर्दै प्रत्येक व्यक्तिको आत्मसम्मान र अधिकारको रक्षा गर्नु यस पटकको मुख्य उद्देश्य रहेको छ । सन् २००८ देखि मनाउन थालिएको यो दिवसका माध्यमबाट अटिजम भएका व्यक्तिहरूको पहिचान र उनीहरूको क्षमतालाई कदर गर्ने वातावरण निर्माण गर्न खोजिएको छ ।
अटिजम कुनै रोग नभएर एक प्रकारको विकासात्मक अवस्था हो , जसका कारण व्यक्तिलाई सामाजिक अन्तरक्रिया गर्न र आफ्ना भावना व्यक्त गर्न कठिन हुन्छ । यो समस्या वंशाणुगत वा वातावरणीय कारणले हुन सक्ने बताइन्छ । पछिल्लो समय यो एक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । तथ्यांक अनुसार बालिकाको तुलनामा बालकहरूमा यो समस्या देखिने सम्भावना चार गुणा बढी हुन्छ ।
नेपालमा अटिजमबाट प्रभावित व्यक्तिहरूको यकिन तथ्यांक नहुँदा उनीहरूको उपचार र व्यवस्थापनमा केही जटिलता देखिएको छ । विज्ञहरूका अनुसार यदि समयमै यो अवस्था पहिचान गर्न सकियो भने उचित थेरापी र हेरचाहमार्फत उनीहरूको जीवन सहज बनाउन सकिन्छ । कुनै पनि जात वा वर्गका व्यक्तिमा देखिन सक्ने यो समस्यालाई लुकाउनुभन्दा समयमै बुझेर सहयोग गर्नु बुद्धिमानी हुन्छ ।



