काठमाडौँ । बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सरकारले सातै प्रदेशका ५ महिनादेखि ५ वर्षसम्मका नानीबाबुहरूका लागि आजबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार नै वैशाख ६ र ७ गते देशभरका स्वास्थ्य केन्द्र तथा विद्यालयहरूमा यो सेवा उपलब्ध गराउन लागेको हो ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार यस पटक झण्डै २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस अभियानलाई सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू फिल्डमा खटिएका छन् ।
बालबालिकाको शारीरिक वृद्धि विकास र रोगसँग लड्ने क्षमता बढाउन भिटामिन ‘ए’ ले मद्दत गर्दछ भने जुकाको औषधिले कुपोषण र रक्तअल्पता जस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुर्याउँछ । सरकारले हरेक वर्षको कात्तिक र वैशाख महिनामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



