काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने तराई, उपत्यका तथा खोचका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बदली लाग्नेछ । मधेस प्रदेश र अन्य केही तराई क्षेत्रमा समेत हल्का बादल देखिए पनि अधिकांश तराईको मौसम मुख्यतया सफा रहनेछ ।
यसैगरी कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि हिमाली र पहाडी भेगमा आंशिक बदली कायम रहनेछ भने कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । साथै, तराई र उपत्यकाका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने हुनाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

