काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका लागि ५७ जना समानुपातिक सांसदहरूको नाम छनोट गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले नामावली टुङ्ग्याउँदै आजै निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आयोगमा बुझाइएको नामावली आयोगले स्वीकृत गरेपछि मात्र औपचारिक रूपमा सार्वजनिक गरिनेछ । रास्वपाले छनोट गरेका ५७ सांसदहरूमध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन् । क्लस्टर अनुसार खसआर्यबाट १७, जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना सांसद छनोट भएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता झाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा रास्वपा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले यस विषयमा कुनै अन्योलमा नपर्न र अन्यथा विश्लेषण नगर्न समेत आग्रह गर्नुभयो ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा भौतिक रूपमा उपस्थित हुन नसक्नुभएका पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट जोडिनुभएको थियो । प्रत्यक्षतर्फ १२५ सिटसहित सानदार जित हासिल गरेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेसँगै प्रतिनिधि सभामा बलियो शक्तिको रूपमा उदाएको छ ।



