काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरूलाई विद्युत महसुल भुक्तानीमा थप सहजता प्रदान गर्न नयाँ कदम चालेको छ ।
प्राधिकरणले महसुल सङ्कलन प्रक्रियालाई थप आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले निजी क्षेत्रका विद्युतीय सेवा प्रदायक संस्थाहरू छनोटको तयारी थालेको हो । यसका लागि इच्छुक र योग्य संस्थाहरूबाट औपचारिक प्रस्ताव आह्वान गरिएको छ ।
प्राधिकरणको मापदण्डअनुसार यो सेवा सञ्चालन गर्न चाहने संस्थासँग कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति हुनुपर्नेछ । आवेदन दिँदा सम्बन्धित संस्थाले आफ्नो कार्यक्षेत्र, सेवा दिने सञ्जाल, प्रयोग गर्ने प्रविधि, सफ्टवेयर तथा आवश्यक उपकरणहरूको विस्तृत विवरण पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।
खासगरी दुर्गम क्षेत्रका बासिन्दालाई समेत डिजिटल भुक्तानीको पहुँचमा ल्याउन प्राधिकरणले विशेष प्राथमिकता दिएको छ । छनोट भएका संस्थाहरूले स्वीकृति पाएको १५ दिनभित्र सम्झौता गरिसक्नुपर्नेछ ।
साथै, सुरक्षाको प्रत्याभूतिका लागि कम्तीमा एक वर्षको म्याद भएको १ करोड रुपैयाँ बराबरको बैङ्क जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यो पहलले देशभरका उपभोक्तालाई सुरक्षित र छिटो छरितो ढङ्गले महसुल बुझाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।



