काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आजदेखि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ । ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने यस कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित सबै सांसदहरूको सहभागिता रहने भएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रमलाई अनुशासित र प्रभावकारी बनाउन हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्णतः निषेध गरिने भएको छ । सांसदहरूलाई संसदीय प्रक्रिया , पार्टीको कार्यदिशा र आगामी भूमिकाबारे प्रशिक्षित गराउन यो कार्यक्रम तय गरिएको हो । कार्यक्रमको समापन सत्रमा मात्र पार्टी सभापति रवि लामिछाने सहभागी हुने जानकारी दिइएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्न सफल भएको थियो । यति ठूलो सङ्ख्यामा रहेका सांसदहरूलाई सदनमा एकताबद्ध र जिम्मेवार रूपमा प्रस्तुत हुन मद्दत पुगोस् भन्ने उद्देश्यले यो प्रशिक्षण राख्न लागिएको पार्टीले जनाएको छ ।



