काठमाडौँ । माल्दिभ्समा भइरहेको साफ यू-२० पुरुष च्याम्पियनसिपको अन्तिम चारमा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ । समूह चरणका सबै खेलहरू सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा नेपाल, भुटान, बंगलादेश र भारतले आफ्नो स्थान सुरक्षित गरेका छन् । समूह ‘ए’ बाट नेपालले सानदार प्रदर्शन गर्दै समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश पायो । नेपालले तीन खेलमध्ये दुईमा जित र एकमा बराबरी खेल्दै कुल ७ अंक बटुलेको छ । यही समूहबाट उपविजेता बन्दै भुटान पनि सेमिफाइनलमा पुग्न सफल भएको छ । भुटानले तीन खेलमा एक जित, एक हार र एक बराबरीसहित ४ अंक जोडेको थियो । आयोजक माल्दिभ्स र श्रीलंका भने समूह चरणबाटै बाहिरिएका छन् ।
यता समूह ‘बी’ बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । भारतले दुई खेलमा एक जित र एक बराबरी गरी ४ अंकका साथ समूह विजेताको हैसियत बनाएको छ । समान ४ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो । यस समूहबाट पाकिस्तानले आफ्ना दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बिदा लिएको छ ।
तालिका अनुसार अब पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र भुटान भिड्नेछन् । यी दुवै खेलहरू आगामी बुधबार सञ्चालन हुनेछन् । प्रतियोगिताको फाइनल खेल भने शुक्रबार आयोजना गरिने तय भएको छ ।



