जनकपुर/ पर्सा । प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार जनकपुर र पर्सामा हुने यी दुवै खेलहरू बिहान ९ बजेदेखि सुरु हुनेछन् ।
जनकपुरको मैदानमा आज मधेश प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा ३ खेलबाट ५ अंक बटुलेको मधेश प्रदेश हाल अंक तालिकाको तेस्रो स्थानमा सुरक्षित छ । उता ३ खेलबाट ३ अंक नै जोडेको कर्णाली प्रदेश भने छैटौँ स्थानमा संघर्षरत छ ।
त्यसैगरी, पर्सामा हुने अर्को खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । लुम्बिनी प्रदेश ३ खेलमा ३ अंकका साथ पाँचौँ स्थानमा छ भने ४ अंक जोडेको सुदूरपश्चिम प्रदेश चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित कुल १० टिमको सहभागिता रहेको छ । सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको यस प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इतिहास हेर्दा अहिलेसम्म विभागीय टोलीहरूले मात्र यो उपाधि चुम्न सफल भएका छन्, जसमा नेपाल पुलिस क्लबले सबैभन्दा धेरै ४ पटक जितेको छ । साविक विजेता पुलिससँगै त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक उपाधि हात पारेका छन् । यसपटकको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।



