काठमाडौँ । लेबनान र इजरायलबीच युद्धविराम सुरु भएसँगै महिनौँदेखि विस्थापित भएका नागरिकहरू आफ्नो थातथलो फर्किन थालेका छन् ।
इजरायली सैन्य कारबाहीका कारण दक्षिणी लेबनानबाट विस्थापित भएका १० लाखभन्दा बढी मानिसहरू शुक्रबार बिहानैदेखि सिडोन लगायतका सहरबाट घरतर्फ लागेका हुन् । सडकमा सवारीसाधनको लामो लाम लागेको छ भने सर्वसाधारणले झन्डा फहराउँदै खुसीयाली मनाइरहेका छन् । कतिपयले गत सेप्टेम्बरमा इजरायली आक्रमणमा ज्यान गुमाएका हिजबुल्लाहका पूर्वप्रमुख हसन नसरल्लाहको तस्बिर समेत प्रदर्शन गरेका छन् ।
यता इजरायलमा भने यो युद्धविरामलाई लिएर जनमत विभाजित देखिएको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार ५६ प्रतिशत इजरायली नागरिक दक्षिणी लेबनानमा सेना तैनाथ नै रहोस् भन्ने पक्षमा छन् । विशेषगरी उत्तरी सीमा क्षेत्रमा बस्ने इजरायलीहरूले सरकारको यो निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।
सर्वेक्षणले अहिले निर्वाचन भए प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको दलले ठुलो राजनीतिक क्षति बेहोर्नुपर्ने समेत देखाएको छ । एक इजरायली अधिकारीका अनुसार यो युद्धविराम अमेरिकी दबाबका कारण सम्भव भएको हो ।



