काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ ।
यसका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था छ भने अन्य केही स्थानमा पनि आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भेगका थोरै स्थानमा अहिले मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपात भइरहेको विभागको भनाइ छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । गण्डकी र कोशीका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बागमती र लुम्बिनीका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा भने आज पनि गर्मी बढ्ने र ‘तातो दिन’ हुने विभागले उल्लेख गरेको छ ।
रातीको समयमा भने हिमाली क्षेत्रमा बदली रहे पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली भेगका एक-दुई स्थानमा राती पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।



