काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान समयमा कटौती गरिएको छ ।
विमानस्थलको धावनमार्ग आसपासमा भइरहेको निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आगामी एक महिनाका लागि नयाँ समय तालिका निर्धारण गरिएको हो ।
विमानस्थल कार्यालयले जारी गरेको नोटाम (NOTAM) अनुसार अब राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म सबै उडानहरू बन्द रहनेछन् ।
यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालनमा रहने गरेको थियो । विमानस्थल सुधार आयोजना अन्तर्गतका कामहरूलाई सुरक्षित र व्यवस्थित बनाउन रात्रिकालीन समयमा उडान बन्द गरेर मर्मतको काम अघि बढाउन लागिएको कार्यालयले स्पष्ट पारेको छ ।
यस परिवर्तनले रात्रिकालीन उडान गर्ने वायुसेवा कम्पनी र यात्रुहरूलाई आफ्नो तालिका व्यवस्थापन गर्न सूचित गरिएको छ ।



