काठमाडौँ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र आफ्नो उत्पादन क्षमतालाई विस्तार गर्दै ३६ थरीका अत्यावश्यक औषधि बजारमा ल्याउने भएको छ ।
स्वदेशी उत्पादनलाई बलियो बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग साझेदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।
अहिलेको अवस्थामा लिमिटेडले ११ प्रकारका मात्र औषधि उत्पादन गर्दै आएको छ । अब थपिने नयाँ सूचीमा उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगीले नियमित प्रयोग गर्ने औषधिहरू समेत समावेश छन् । यसका लागि आवश्यक अध्ययन, गुणस्तर मापन, अनुमति लिने र प्रविधि जुटाउने कामलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
यो योजनालाई पूर्ण रूप दिन मन्त्रालयले आवश्यक बजेटको प्रबन्ध गर्ने भएको छ । साथै, सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि आपूर्ति गर्दा देशभित्रै उत्पादित औषधिलाई पहिलो प्राथमिकता दिने नीति सरकारले लिनेछ । सम्झौता कार्यान्वयनमा आएपछि मन्त्रालय र लिमिटेडबीच सिधै संस्थागत प्रणालीबाट औषधि खरिद हुने भएकाले सरकारी खरिद प्रक्रिया थप सहज र नियमित बन्ने देखिन्छ । यसबाट उत्पादित औषधिको बजार सुनिश्चित हुने विश्वास गरिएको छ ।
लिमिटेडबाट तयार हुने सम्पूर्ण औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै हुने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । यो कदमले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन, आयात घटाउन र नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय औषधि निरन्तर उपलब्ध गराउन सघाउने अपेक्षा छ ।

