काठमाडौँ । देशका विभिन्न अस्पतालहरूमा कार्यरत प्रशिक्षार्थी, आवासीय चिकित्सक र मेडिकल अधिकृतहरू आन्दोलनमा उत्रिएका छन् ।
आफूहरूमाथि लामो समयदेखि श्रम शोषण भइरहेको आरोप लगाउँदै उनीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका हुन् ।
चिकित्सकहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ गठन गरेर आफ्ना मागहरू अघि सारेका छन् । नेपालको श्रम ऐन, २०७४ अनुसार कामको समय तय गरिनुपर्ने उनीहरूको मुख्य माग छ । ऐनले तोकेबमोजिम दैनिक बढीमा १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काममा खटाउन नपाइने तथा हप्ताको एक दिन अनिवार्य बिदा पाउनुपर्ने व्यवस्था लागू गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।
अस्पतालहरूले तोकिएको समयभन्दा धेरै काम गराउने तर उचित सेवा सुविधा नदिने गरेको आन्दोलनकारीहरूको गुनासो छ । यसका साथै हप्तामा ४८ घण्टाभन्दा बढी काम गर्नुपरेमा श्रम ऐन अनुसार अतिरिक्त समय (ओभरटाइम) को भत्तासमेत उपलब्ध गराउनुपर्ने माग उनीहरूले राखेका छन् ।

