असोज २ काठमाडौं। काठमाडौंमा शनिबार देखि सुरु भएको व्यापार मेलामा पाकिस्तानमा उत्पादित सामानहरु प्रदर्शनीमा राखिएको छ। नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले शनिबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा आयोजित एक कार्यक्रममा पाकिस्तान र नेपाल मैत्री व्यापार मेला २०२२ को उद्घाटन गरेका हुन्।
सो अवसरमा राजदूत शाहले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन र द्विपक्षीय व्यापार प्रवद्र्धनमा पनि प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। यो प्रदर्शनी नेपाल र पाकिस्तानबीचको उत्कृष्ट व्यापार सम्बन्धको उदाहरण भएको राजदूत शाहले बताए । मेलामा दुबै देशका स्वदेशी उत्पादनहरु प्रदर्शनी हुने भएकाले यसबाट दुबै देश लाभान्वित हुने उनले बताए।
कार्यक्रमका आयोजक अनि प्रबन्ध निर्देशक सुमन महर्जनले प्रदर्शनीले दुई देशबीचको आर्थिक गतिविधिलाई प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले पाकिस्तानमा उत्पादित छालाका सामानको नेपालमा राम्रो बजार रहेको र नेपालको हस्तकलाका उत्पादनको पाकिस्तानमा उच्च माग रहेको बताए ।
असोज ६ गतेसम्म चल्ने व्यापार मेलामा फर्निचर, छालाका सामान, हस्तकला, कपडा, सारी, कुर्ता, ओछ्यान, जुत्ता, चप्पल, गरगहना, गहनालगायतका उत्पादन राखिएको छ।
नेपाल र पाकिस्तानका दूतावासबीचको सहकार्यमा एक दशकभन्दा बढी समयदेखि यो व्यापार मेला आयोजना हुँदै आएको छ । यो वर्ष भारत र बंगलादेशले पनि स्टल राखेका छन् ।