असोज ६, काठमाडौं । नेपालको छाला उद्योग पछिल्लो समय आर्थिक संकटमा परेको छ । नेपाल छाला उद्योग संघका अनुसार देशमा छाला उत्पादन गर्ने करिब एक दर्जन उद्योगको आर्थिक अवस्था दयनीय छ । संघका महासचिव मोहम्मद जुनैद इफ्ताखार अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि नेपालको छाला उद्योग संकटमा परेको बताउँछन् ।
संघका अनुसार नेपालमा हाल स्वदेशी लगानीका १२ वटा मात्रै उद्योग सञ्चालनमा छन् । महासचिव इफ्तखारले नेपालमा खसी र भैँसीको छाला मात्रै पाइने बताउँछन् भने महँगो खर्च गरेर विदेशबाट गाई तथा अन्य जनावरको छाला ल्याउनुपर्ने बाध्यता छ । फलस्वरूप नेपालको छाला उद्योगले उत्पादन लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन । छालाको सुधारका लागि आवश्यक पर्ने केमिकलको मूल्य पनि बढी रहेको संघले जनाएको छ ।
संघका मधेस शाखाका महासचिव विनोदकुमार चौधरी बताउँछन् उत्पादन लागत महँगो भएकाले नेपालमा उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन। नेपालका १२ वटा छाला उद्योग मध्ये ८ वटा बारा-पर्सा औद्योगिक करिडोरमा छन् भने ४ वटा विराटनगरमा सञ्चालित छन् । नेपालमा वार्षिक रु ५ अर्बको जुत्ताको कारोबार हुने संघले जनाएको छ।