प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आवश्यकता अनुसार सत्तारुढ गठबन्धन बनेको बताएका छन् ।
सत्तारुढ दलका कार्यकर्ताको आज पोखरामा आयोजना गरिएको प्रदेश स्तरीय बैठकको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि भएको स्पष्ट पारे ।
उनले संविधानको रक्षा, स्थायित्व, समृद्धि र समावेशीता सुनिश्चित गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले विजयी हुने विश्वास व्यक्त गरे ।
“समावेशले राष्ट्रिय एकता सुनिश्चित गर्छ र राष्ट्रिय एकताबाट देश बलियो बन्न सक्छ। वर्तमान राजनीतिले सबैको प्रतिनिधित्व सुनिश्चित गर्छ,” प्रधानमन्त्रीले भने ।
उनले सत्तारुढ दलहरुबीच तिक्तता पैदा गर्ने शब्द र कार्यबाट टाढा रहन र सत्ता गठबन्धनमा शंका नगर्न पार्टी कार्यकर्तालाई आग्रह गरे । एउटै दलको जित हुने सम्भावना नरहेकोले हामी एकजुट भएका हौँ । (RSS)