पुर्विचौकी (डोटी) । डोटी जिल्लाको पुर्विचौकी-५ उपरकाण्डा गाउँपालिकाका ६३ वर्षीय लालवीर साउद १५ वर्षदेखि दमका बिरामी हुन्।
सामान्य चिसोमा पनि उनलाई सास फेर्न समस्या भइरहेको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि अहिले उनी झुपडीमा बस्न बाध्य छन् ।
तीन दिनदेखि कतैबाट राहत नपाएपछि जङ्गलबाट दाउरा जुटाएर झुपडी तयार गर्दै उनले भने, ‘परकम्पहरू दोहोरि रहेका छन, स्वास्थ्य बिग्रँदै गएको छ तर राहत मिलेको छैन ।’
त्यसैगरी उपरकण्डा गाउँका २५ भन्दा बढी परिवार चिसोले क्षतिग्रस्त घरबाहिर रातभर बिताउन बाध्य छन् ।
पुर्विचौकी गाउँपालिका-३ गैरागाउँमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पुर्विचौकी-३ का १८ पुर्ण र १२ वटा आंशिक रुपमा क्षति भएका घरहरुलाई सरकारी तर्फबाट आपतकालीन राहत पुर्याएको जानकारी दिनुभयो ।
उनले भनिन्, ‘सायल, आदर्श र पुर्विचौकी गाउँपालिकालाई भूकम्पबाट भएको क्षतिको प्रतिवेदन बुझाउन अनुरोध गरिएको छ, छिट्टै प्रतिवेदन आउनेछ ।”
गत बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । घरको कमजोर निर्माण संरचनाका कारण खप्तड राष्ट्रिय निकुञ्ज नजिकै डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाका बस्तीमा क्षति पुगेको छ ।