ग्लोबल आइएमई बैंकले पूँजी र व्यवसायका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनाउने सम्झौताका रुपमा बैंक अफ काठमाण्डू सँग मर्जर सम्झौता गरेको छ ।
यस सम्बन्धमा सोमबार दुई बैंकबीच सम्झौता भएको हो ।
ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मर्जर पछि मर्ज भएका संस्थाको कुल पूँजी ५७ अर्ब रुपैयाँ पुग्नेछ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ । मर्जरमा गएको संस्थाको कुल निक्षेप रु ४०० अर्ब नाघेको छ भने कर्जा प्रवाह रु ३७९ अर्ब पुग्ने छ, जसले चुक्ता पुँजी र व्यवसायको मात्राका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने छ ।
दुवै बैंकको सञ्चालक समितिले मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा १ः१ को स्वाप रेसियो स्वीकृत गरेको छ ।
सिफारिस अनुसार नयाँ संस्थाको नाम ग्लोबल आइएमई बीओके लिमिटेड रहनेछ र नयाँ सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका अध्यक्षसहित पाँच सदस्यको प्रतिनिधित्व रहनेछ । त्यसैगरी, नयाँ सञ्चालक समितिमा बीओके बाट दुई जना सदस्य रहनेछन् ।
मर्जरपछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सीईओको पदमा कायम रहनेछन् ।
दुवै बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । मर्जर पछि नयाँ संस्थाका कुल ३९६ शाखा, ३६८ एटिएम, २७५ शाखारहित बैंकिङ सुविधा, ६१ एक्सटेन्सन काउन्टर र विदेशमा तीन सम्पर्क कार्यालय हुनेछन् । नयाँ बैंकका ४० लाखभन्दा बढी ग्राहक हुनेछन् ।
मर्जरले ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न मद्दत पुग्ने दुवै बैंकको विश्वास छ ।
हाल नेपालमा २६ वटा वाणिज्य बैंकहरु कार्यरत छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेपालका बैंक तथा वित्तीय संस्थाहरु एकअर्कामा गाभिने वा अन्य बैंक प्राप्ति गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आगामी दिनमा बैंकहरुले वित्तीय संकटलाई अझ राम्रोसँग सामना गर्न सक्ने गरी बैंकहरुको मर्जर/प्राप्तिलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।